विवाह भनेको जीवनभरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो । अन्य साथीभाइसँगको सम्बन्ध बिग्रे पनि धेरै क्षति हुँदैन तर जीवनसाथीसँगको सम्बन्ध बिग्रेमा जीवन नै नरक बन्दछ, साह्रै ठुलो क्षति हुन जान्छ । अन्य उपायले यो क्षतिको क्षतिपूर्ति हुनै सक्दैन । फेरि विवाह गरे पनि प्रथम विवाह जस्तो सुमधुर सम्बन्ध हुन सक्दैन । यो सम्बन्धलाई सहज सुन्दर बनाउनका लागि असल बानी व्यहोरा असल चाल चरित्र हुनुपर्छ । त्यति कुरा त सबैले जाने बुझेका हुन्छन् ।  यी र यस्तै अनेक कुरा मिलाएरै विवाह हुने गर्छन्, तर पनि दाम्पत्य सम्बन्ध किन टूटने गर्छ ? आजको नयाँ पुस्ताले यो विषय जान्न बुझ्न नसकेर अनेक दुःख पाएकाले यो लेख प्रकाशित गर्न जरूरी भएको छ ।

जोसँग हामीले जीवन बिताउनु पर्ने हो उसँग हाम्रा नैसर्गिक (जन्मजात) स्वभावहरु मिल्नुपर्छ । परस्परको गुण दोषले परस्परलाई प्रभावित पार्ने भएकाले प्राकृतिक रूपले गुण मिल्नुपर्छ । उमेर, शिक्षा स्वास्थ्य, आर्थिक अवस्था, रुचि, जात, वर्ण आदि मिलाउनै पर्छ । त्यतिमात्र मिलेर पनि पुग्दैन । भकूट अर्थात नाड़ी गुण, गण ,तारा आदि अनेक विषयमा न्यूनतम अंक प्राप्त हुनैपर्छ । यदि गुणमिलान गर्दा ३६ मा आधा अर्थात् १८ गुण भन्दा कम गुण आएमा यो सम्बन्ध सहज सुन्दर हुँदैन, विवाह योग्य मानिदैन । गुण नपुगे पनि विवाह गरियो भने सुस्त सुस्त अरुचि बढ्दै जाने, माया प्रेम कम हुँदै जाने र अन्ततः एकले अर्कालाई वेवास्ता गर्दै जाने स्थिति बन्दछ र अन्तत त्यो सम्बन्ध विच्छेदमा गएर टुङगिन्छ । त्यस्तो न होस् भन्नका लागि नै गुणमिलान अत्यावश्यक मानिएको हो ।

गुण मिलान गरेपछि पुग्यो त ?
हैन, पुग्दैन । राशि मिलान अर्कों झन महत्वपूर्ण पक्ष पनि मिल्नुपर्छ । केटाको राशिबाट केटीको राशि या केटीको राशिबाट केटाको राशि छैठौं या आठौं राशि हुनुहुँदैन । त्यस्तो भएमा एकले अर्कालाई सिध्याउने खेल शुरू हुन्छ । यसप्रकारको षड़ाष्टक दोष नहोस् भन्नका लागि पनि चिना मिलाउनुपर्छ ।

अब यो षड़ाष्टक दोष भएन भने विवाह गर्ने बाटो खुल्यो त ? केहि विचारणीय पक्ष अझै बाँकी छ । जन्म कुण्डलीमा प्रथम द्वितीय चतुर्थ सप्तम द्वादशभावमा मंगल ग्रह भएमा चन्द्रमा, बृहस्पति, राहु, केतु केन्द्रमा नभएमा मांगलिक दोष बन्दछ जसले गर्दा एकले अर्कालाई समाप्त पार्ने अनेक अवस्था उत्पन्न हुन्छ र दाम्पत्य जीवन ध्वस्त हुनपुग्छ । यो विचार गर्न पनि दुवैको जन्मकुण्डली चेक गर्नु र मिलाउनु जरूरी हुन्छ ।

नाड़ी आदि दोष, षड़ाष्टक दोष, मांगलिक दोष छैन भने विवाह गर्न त हुन्छ तर पनि अरु थप विचारणीय पक्षहरु हुने गर्छन् जुन चिना कुण्डली मिलान गर्दा ध्यान दिनु जरुरी मानिन्छ जस्तै – पारिवारिक सुख, भाव सन्तान, सौभाग्य सम्बन्धी भावमाथि पनि विचार पुर्याएर विवाह गरेमा शत प्रतिशत सफल दाम्पत्य सम्भव हुनेगर्छ ।

यी र यस्तै विभिन्न विषयमा प्रिय पाठकवृन्दका जीवनमा या नयाँ पुस्तामा कुनै समस्या नआओस, सहज सुन्दर दाम्पत्य जीवन विकसित होस्, भन्नका लागि नै हाम्रा बाउ बाजेले अनुसरण गर्दै आएको जीवन शैलीको अंगलाई हाम्रो पात्रो एपले विवाहका लागि आवश्यक विचारणीय विषय मानेर कुण्डली गुण मिलान सेवा समेत प्रस्तुत गरेको छ । यसको भरपूर उपयोग गरि सुखी दाम्पत्य जीवन स्थापित गर्न सम्बन्धित नयाँ पुस्ता र अभिभावक वर्ग सबैमा अनुरोध गर्दछौं ।

– आचार्य चूडामणि पाठक